रास्वपाका २ उपसभापतिसहित ९ जना नेतालाई पक्राउको माग गर्दै युवराज सफलले दिए जाहेरी

७ कार्तिक,काठमाडौं ।अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल तथा डा.स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

सहकारी ठगी प्रकरणमा सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध अन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् ।

सफलले दुई जना उपसभापतिसहित रास्वपाका नेता विराजभक्त श्रेष्ठ,संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार,पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, डा.तोशिमा कार्की, हरि ढकाल,गणेश पराजुली,मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको जनाएका छन् ।

उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा ५० अनुसार राजद्रोह सम्बन्धी महलको उपदफा ३ मा उल्लेख भएको कसुरका कारण उक्त कसुरदारलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको  छ ।

साथै उनले उक्त व्यवस्थाअनुसार उनीहरुलाई तत्काल पक्राउ गरेर हदैसम्मको कारबाहीको माग समेत गरेको जनाइएको छ ।