
२२ कात्तिक,काठमाडौं ।सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् ।आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ।
छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ।यतिबेला काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छाएको छ ।
छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ ।
वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् ।राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम गर्न मद्धत पुगेको छ ।
छठको व्रत गर्नाले मनोवाञ्छित फल पाइने,परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास रहिआएको छ ।
