
१९, मंसिर बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गरे ।
“विश्वको यस भागमा थुप्रै महान् सभ्यताहरूको विकास भएको थियो, ती सभ्यताहरूको महत्त्व हाम्रो समाजको अडिग आधार हुन्”, उनले भने, “ती सभ्यताहरू अझै पनि हाम्रो आधुनिकताका यात्रामा गुन्जिएका छन् ।”
प्रधानमन्त्री ओलीले आफूले युवा अवस्थामै पेकिङ विश्वविद्यालयबारे पढेको स्मरण गरे ।सन् १९१९ मा विश्वविद्यालयमा साम्राज्यवाद र सामन्तवाद विरोधी चौथो आन्दोलन सुरु भएको उल्लेख गदै उनले उक्त आन्दोलन आधुनिक चीनको इतिहासमा महत्त्वपूर्ण मोड भएको आफूले पाएको बताए ।
उनले लोकतन्त्र र जनताको खुसीका लागि आफ्नो खोज कठिनाइ र अवरोधको सामना गर्दा आफू अझ बलियो भएको बताए । उनले हाम्रा पूर्वज केवल चिन्तक मात्र नभई आविष्कारक र दूरदर्शीसमेत भएको उल्लेख गर्दै उनीहरूको योगदान एसिया मात्र नभई संसारका लागि पनि एक धरोहर भएको बताए ।
