
सीता पौडेल
१ माघ, देवघाटधाम । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको ठूलो घुइँचो लागेको छ ।
आज माघे सङ्क्रान्तिका दिन नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा स्नान गर्ने तीर्थालुको ठूलो भीड लागेको हो ।
देवघाट क्षेत्र विकास समितिका अनुसार करिब ५ लाख श्रद्धालु भक्तजनहरु देवघाटधाम स्नान गर्न वा मेला भर्न आउने अनुमान गरिएको छ ।मेला व्यवस्थापन र तीर्थालुहरुको सुरक्षाको लागि पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिले जनाएको छ ।
मेला अवधिमा सवारीसाधन,चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ ।
यसका साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको समितिको भनाई छ ।
यस्तै चिवनतर्फका सवारीसाधनको पार्किङ साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ ।

ठूला सवारीसाधन बस, मिनिबस, माइक्रो आदिको पार्किङ दाहसंस्कारस्थल प्रवेशद्वार चन्द्रलोक स्वर्गद्वारबाट उत्तर पूर्वक्षेत्रमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
झोलुङ्गे पुलमा एक पटकमा सय जना मात्र हिँड्ने व्यवस्था मिलाइएको देवघाट क्षेत्र विकास समितिको भनाई छ ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाका अनुसार एकतर्फी भाडा रु ५० तिरेर डुङ्गा र र्याफ्टिङबाट नदी वारपार गर्ने व्यवस्था समेत मिलाइएको छ ।
तीर्थस्थलमा धुम्रपान, मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गरिएको छ ।

देवघाट गाउँपालिका– ५ का अध्यक्ष पूर्णबहादुर कुँवरका अनुसार तीर्थालुहरुको सुरक्षालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाइएको छ ।
सशस्त्र प्रहरीबल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार, नेपाली सेना र नयाँ सबुज गण भरतपुरबाट दुई–दुई वटा उद्धार र्याफ्टिङ डुङ्गाको व्यवस्था समेत गरिएको अध्यक्ष रानाले जानकारी दिएका छन् ।

मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन्।सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहिआएको छ ।
