
११ माघ,काठमाडौं।चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल)का अवसरमा नेपालस्थित चिनियाँ दूतावासले ठमेलमा आयोजना गर्न लागेका कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले अनुमति दिन अस्वीकार गरेको छ।
चिनियाँ दूतवासले काठमाडौं महानगरलाई एकहप्ता अगाडी पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबलको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति माग्नुका साथै महानगरपालिकालाई सह–आयोजक बन्ने प्रस्ताव पनि गरेको थियो।
साथै नेपाल ओभरसिज चाइनिज एशोसिएसनले पनि यो अवधिका लागि काठमाडौंको रत्नपार्कमा समेत निःशुल्क स्थान उपलब्ध गराइदिन महानगरलाई पत्र लेखेको थियो।पत्रमा बिजुली,यातायात र पार्किङका लागि सहजीकरण गरिदिन भनिएको थियो।
तर,काठमाडौं महानगरले ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न भन्दै जवाफ पठाएको छ।पत्रमा महानगरले ‘विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंको पर्यटन प्रवर्द्धन गर्ने हिसाबले २०२५ स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्ष ल्यान्टिन शो आयोजना गर्न लागेकामा’ धन्यवाद दिँदै ठमेलमा नमिल्ने तर चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न सुझाएको हो।
अघिल्ला वर्षहरुमा पनि चिनियाँ दूतावास आयोजक भएर गरिने यो कार्यक्रममा काठमाडौं महानगरपालिका सहआयोजक हुने गरेको थियो।तर,यसपटक अनुमति नदिनुका पछाडि बाहिरी चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले गरेको ढिलासुस्ती कारण रहेको मेयर बालेन शाहको सचिवालयले जनाएको छ।
‘कलंकीदेखि महाराजगञ्जसम्मको क्षेत्रमा अस्तव्यस्त रहेको सडकका कारण सिंगो राजधानी नै धुलाम्ये भएको छ, यस्तोमा उहाँहरुलाई पनि त्यहाँको स्थिति थाहा होस् भन्ने हिसाबले यस्तो जवाफ गएको हो’,स्रोतले भन्यो, ‘चिनियाँ कम्पनीका कारण समस्या भएको विषयमा सधैं गुनासो भइरहने तर, समाधान नभएकाले सांकेतिक विरोध गर्न समेत खोजिएको हो ।’
चिनियाँ दूतावासले पठाएको पत्रमा जनवरी २६ देखि डिसेम्बर ३१ सम्म ठमेल लाइट अप–२०२५ कार्यक्रम अन्तरगत ३०० भन्दा बढी रातो लालटिन राखेर ठमेलका सडकहरु सिँगारिने समेत उल्लेख गरिएको थियो ।
