
१२ फागुन,काठमाडौं।टोखा प्रहरी चौकीदेखि टोखा र बुढानिलकण्ठ नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य शुरु भएको छ ।
आज सोमबार बिहान टोखा प्रहरी चौकीदेखि बुढानिलकण्ठ नगरपालिकाको सिमानासम्मको विष्णुमती खोलाको दायाँबायाँ ट्रयाक खोल्ने कार्यको थालनी गरिएको नगर प्रमुख प्रकाश अधिकारीले बताए ।
सो कार्यमा उपप्रमुख मुरारी तामाङ,प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी,वडा अध्यक्षहरू लगायत जनप्रतिनिधिहरू,नगर प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको र उनिहरुको रोहवरमा ट्रयाक खोल्ने कार्यको थालनी गरिएको उनले बताए ।
नगरपालिकाले ३ ओटा डोजर प्रयोग गरेर सडक निर्माण कार्य पनि सुरु गरेको छ ।अर्काहप्ता शुभहोम्सको कम्पाउण्डबाट ट्रयाक खोल्ने तयारीसमेत गरेको नगर प्रमुख अधिकारीले बताएका छन् ।
उक्त नगरपालिकाले विष्णुमती करिडोर क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुमा हरियाली पार्क र कालोपत्रेसहितको पक्की सडक निर्माण गर्ने योजना अनुसार कार्य गरिरहेको छ ।
यस्तै पालिकाले करिडोर क्षेत्रमा भएका घर–टहरा हटाएर सार्वजनिक जग्गा संरक्षण गरि फराकिलो सडक निर्माण गर्ने कार्यलाई तिब्रताका साथ अगाडी बढाएको प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बी.सी.ले बताए ।
करिडोरको काम सम्पन्न भएपछि दुवै पालिकाको विकास र समृद्धिमा योगदान पुग्ने र आवतजावतमा सहज हुने उनको भनाई छ ।

