
१६, जेठ काठमाडौं । महिनावारी स्वच्छताबारे सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका छन् । शुक्रबार ११ औँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर महिनावारी स्वच्छताको सचेतना फैलाउन ३९२ जनाले साइकल र्याली गरेका हुन् ।
महिनावारी स्वच्छताका लागि काम गरिरहेको एक्सपोज नेपालले आयोजन गरेको सचेतनामूलक साइकल र्यालीमा ३५२ जना महिलासहित ३९२ जनाको सहभागिता थियो । ‘महिनावारी मैत्री विश्वव्यापी हातेमालो’ भन्ने नाराका साथ काठमाडौँको बसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्याली सुरु गरी ललितपुरको मंगलबजारमा समापन भएको हो ।
साइकल र्यालीको समापनका कार्यक्रममा अधिकांश सरोकारवालाले महिनावारीका समयमा महिलाले नै अर्को महिलाप्रति भेदभाव गर्ने गरेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमको समापन सभामा बोल्नुहुँदै राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले महिनावारीका बेला हुने विभेद अन्त्यका लागि घरभित्रको व्यवहारमा सुधार हुनुपर्ने बताए । उनले राज्यले नै महिनावारी स्वस्छ स्वस्थ सुरक्षित र मर्यादित बनाउन नीतिगत रुपमा काम गर्नुपर्ने उल्लेख गरे।
यसैगरी, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले राज्यव्यवस्था फेरिएसँगै महिलाले खुलेर महिनावारीका विषयमा बोल्न सकेको उल्लेख गरे । उनले महिनावारीका बेला हुने पारिवारिक, सामाजिक र मानसिक विभेदलाई निर्मूल गर्न सार्वजनिक संस्थाले गर्ने सचेतनामूलक अभियानको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
एक्सपोज नेपालका संस्थापक अध्यक्ष नेपाली प्याड म्यान ज्ञान महर्जनले सचेतनामूलक साइकल र्यालीको सुरुवाती चरणमा ७० जना सहभागीमध्ये एक जनामात्र महिला सहभागी भएको स्मरण गर्दै आठ वर्षपछि अहिले ९० प्रतिशत महिला सहभागिता हुनु परिवर्तनको सन्देश भएको उल्लेख गरे।
