
२८,जेठ काठमाडौं । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ ।
त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरू त्रिशूली नदीमा र्याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौँ तथा चितवनबाट गाडीमा दुईरतीन घण्टामै पुगिने त्रिशूली नदीमा र्याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्याफ्टिङ मात्रै होइन यति बेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू देखिन्छन् ।
त्यसो त यो र्याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यति बेला र्याफ्टिङका लागि आउनेहरूको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् । “र्याफ्टिङका लागि यो अनुकूल समय हो, बर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन”, उनले भने, “पारिवारिक साहसिक गतिविधि भएकाले र्याफ्टिङ गर्नेहरू बढेका छन् ।” बिदाका दिन आउने, र्याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरू बढेको उनको भनाइ छ ।
उनका अनुसार त्रिशूलीमा खासगरी काठमाडौँ, चितवन, पोखरालगायतका सहरबाट मानिसहरू आउने गरेका छन् । “कतिपय मानिसहरू काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा पनि र्याफ्टिङ गरेर जानेहरू हुनुहुन्छ, त्यसबाहेक काठमाडौँ र चितवनबाट प्याकेजमा र्याफ्टिङलगायतका गतिविधिका लागि आउनेहरू हुनुहुन्छ”, उनले भने ।
यहाँ आउनेहरू गर्मी छल्ने मात्रै नभई नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ । त्रिशूली नदीमा र्याफ्टिङ निकै सहज भएकाले काठमाडौँबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्याफ्टिङ गर्न सक्छन् । “र्याफ्टिङ सबै उमेर समूहका लागि हो”, सञ्चालक कँडेलले भने ।
