
१६ भदौ,काठमाडौं ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ। जसको प्रभावले मौसम बदली भई कतिपय स्थानमा भारी वर्षा भइरहेको छ।
मोसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
बागमती प्रदेश,गण्डकी प्रदेश,कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज पनि देशभर साधारणतया बदली रहने छ। बागमती प्रदेश,कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।
उता आज राती पनि देशभर साधारणतया बदली रहनेछ।सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेको ती स्थानहरुमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
