रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र बन्यो थप आकर्षक

२२ भदौ, ललितपुर । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ ।

ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि थप आर्कषक बनेको हो । सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ ।

महानगरपालिकाले करिब रु एक करोड ५२ लाख लागतमा स्थानीयस्तरमा उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याएको हो । मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको सो इँटा निकै बलियो र टिकाउ हुने महानगरको दाबी छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन् भन्छन् – ‘तत्कालिन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ ।’

 महानगरले भविष्यमा पनि यस क्षेत्रको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ ।