
३० भदौ,काठमाडौं ।सरकारले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरिदिएको छ ।
जेनजी प्रदर्शन पछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको जनाएको छ ।
मन्त्री ओमप्रकाश अर्यालका अनुसार अघिल्लो मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको हो।
गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनमा सरकारले गोली चलाई १९ जना जेनजी युवाहरुलाई गाली ठोकेर मारेका कारण र आन्दोलनमा विभिन्न स्वार्थ समुहको घुसपैठ भई आन्दोलन उग्र बन्दै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
यसैबीच निर्वाचन आयोगले पनि आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफलमा जुटेको जानकारी दिएको छ ।साथै आयोगले रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरिएको जनाएको छ ।
