
२० असोज,काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगको हिजो सोमबारको बैठकद्धारा स्वीकृत कार्यतालिका अनुसार आगामी मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र कार्यालय स्थापना भएपछि त्यसले प्रत्यक्षतर्फको उम्मेवारी मनोनयनको कार्यतालिका सार्वजनिक गर्ने उल्ले्ख छ ।फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तर त्यस पछि भने ,प्रचारप्रसार निषेधको अवधि रहनेछ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगको कार्यक्रम छ ।
दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेकोले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेशमार्फत खुला गरेको मतदाता नामावली संकलन सुरु गरिरहेको छ ।
१६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर यहि कर्तिक ३० गतेसम्म नाम दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।
