
२७ वैशाख, काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक,कोदो,भटमास,फापर,मकै लगायत खाद्य सामग्री आयातमा कडाइ गर्दै तत्कालका लागि रोक लगाएको छ ।
नेपालबाट निर्यात गरिएका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रिया (विषादीकरण) मा प्रयोग गरिएका कागजातहरू शंकास्पद पाइएपछि अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन (एनपीपीओ) ले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा यस्तो अवरोध सिर्जना भएको हो ।
अन्तर्राष्ट्रिय नियम अनुसार जुन देशमा खाद्य सामग्रीको उपचार (फ्युमिगेसन ट्रिटमेन्ट) गरिन्छ, सोही देशले स्वास्थ्यताको प्रमाणपत्र जारी गर्नुपर्छ । नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रविधि नभएका कारण सन् २०२१ देखि नेपाली सामग्रीहरू भारतको कोलकाता पठाएर त्यहाँ उपचार गरी नेपालबाटै प्रमाणपत्र जारी गरेर पठाइने गरिएको थियो ।
तर, पछिल्लो समय यस प्रक्रियामा गम्भीर लापरबाही र बदमासी भेटिएको पौडेलले बताए । ‘सामान नेपालमै हुँदा कोलकातामा उपचार भइसकेको नक्कली कागजात बनाउने, प्लास्टिकमा प्याक गरिएको सामानलाई नै उपचार गरिएको भनी प्रमाणपत्र दिनेजस्ता कार्यहरू व्यवसायी र कोलकाताका ट्रिटमेन्ट प्रोभाइडरबाट भएको पाइयो,’ उनले भने ।
उनका अनुसार अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसनले आधिकारिक इमेल पठाउँदै नेपालको प्रमाणपत्रमा विश्वास गर्न नसकिने जनाएको छ ।
‘यदि सामान भारतमा उपचार गरिएको हो भने भारत सरकारकै ‘रि–एक्स्पोर्ट फाइटो स्यानिटरी सर्टिफिकेट’ चाहिन्छ, अन्यथा नेपालले आफ्नै उपचार सुविधा विकास गर्नुपर्छ,’ अस्ट्रेलियाले पठाएको पत्रमा उल्लेख छ ।
पछिल्लो समय पठाइएका सामग्रीमा किरासमेत भेटिएपछि अस्ट्रेलियाले नेपाली अधिकारीहरूलाई सचेत गराउँदै आयात रोकेको हो ।
अस्ट्रेलियाले हाल नेपाललाई दुई वटा विकल्प दिएको छ । पहिलो, नेपालले आफ्नै भूमिमा अस्ट्रेलियाले तोकेको मापदण्ड र मेसिन प्रयोग गरेर सामानको उपचार गर्नुपर्ने छ ।
दोस्रो, यदि तेस्रो मुलुक (भारत) मा उपचार गराउने हो भने भारतीय सरकारी निकायले नै त्यसको शतप्रतिशत जिम्मेवारी लिएर रि–एक्स्पोर्ट फाइटोस्यानिटरी सर्टिफिकेट जारी गर्नुपर्ने छ ।
