
१ जेठ, काठमाडौं ।उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि अर्थ मन्त्रालयले ९६ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिएको छ ।
मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि मन्त्रालयले स्रोत सहमति दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले बताइन् ।
आयोजना अनुसार कोरला सडकअन्तर्गत पर्वत–म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना,थासाङ–२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान,थासाङ गाउँपालिका–टुकुचेस्थित थापाखोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो ।
पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रिया गरिने प्रमुख शर्माले जानकारी दिइन्।उत्तर – दक्षिण जोड्ने कोरला सडक आयोजना अन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
कोरला सडकअन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको छ ।
