
८ जेठ,महेन्द्रनगर । कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पुर्याउन थालिएको छ।
सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ।
घर ठेगानामै राहदानी पुर्याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो।
हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पुर्याउन थालिएको जानकारी दिए।
प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि भर्नुपर्ने प्रमुख पाण्डेयले बताए ।
