
१३ जेठ,काठमाडौँ । सरकारले एक सय ३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुनेछन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्य योजनासमेत तयार पारी लागू भइसकेको छ। उनले निकायहरूलाई जिम्मेवारी तोकिइसकेको पनि बताइन् ।
मनसुनी विपद्का बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४,नेपाल प्रहरीका १० हजार ५८५ र सशस्त्र प्रहरीबाट १३४ गोताखोरसहित आठ हजार ११० जना तयारी अवस्थामा राखिएको र उनीहरू आवश्यकताका आधारमा ७७ वटै जिल्लामा खोज तया उद्धारका लागि जनशक्ति तयार पारिएको उनको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आकलन गरेको छ।तर पनि निश्चित क्षेत्रमा असर गर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु जरुरी छ।
