पार्टीमा निजी स्वार्थका मुहान खोज्न बन्द गरौं : सभापति रवि लामिछाने

९ असार,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्किरहेको गुटबन्दी र व्यक्ति (केन्द्रित सोच हट्नु पर्ने अवश्यकता औंल्याएका छन्।

चितवनमा जारी प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्ताव मार्फत उनले निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोको खेल प्रवृत्ति बन्द गर्न चेतावनी दिएका हुन्।

‘सांगठनिक जीवनका प्रवृत्तिगत समस्या’ र ‘चाकडी होइन, उत्पादन र उद्यमसँग जोडिएका पार्टी सदस्य’ उपशीर्षकमा लामिछानेले रास्वपा अझै पनि राजनीतिक अभियानबाट संस्थागत दलमा रूपान्तरणकै चरणमा रहेको बताएका छन्।

गुटगत मानसिकता र समूहगत संरक्षणवादको अन्त्य :

सभापति लामिछानेले मुहान जे भए पनि सबै एउटै नदीका हिस्सा भएको भावनाका साथ अघि बढ्नुपर्नेमा सहकार्य र सम्मानको संस्कार विकासमा कमजोरी देखिएको औंल्याएका छन्।

‘यो महाधिवेशनपछि पार्टीमा पूर्व समूह भन्ने र निजी स्वार्थका लागि मुहान खोज्ने काम सधैंका लागि बन्द हुनुपर्छ,’ प्रतिवेदनमा उनले भनेका छन् ।

प्रारम्भिक योगदानका आधारमा विशेष अधिकार खोज्ने र आफूमाथि चुनौती हुन सक्छ भनेर राम्रा व्यक्तिलाई पार्टीमा आउनबाट रोक्ने प्रवृत्ति पार्टीभित्र देखिएको पनि उनले उजागर गरेका छन्।

समूहगत संरक्षणवादले योग्य तथा प्रतिबद्ध सदस्यहरूलाई निरुत्साहित बनाएको गुनासो आएको भन्दै उनले व्यक्तिगत प्रभाव विस्तारको प्रवृत्तिले संगठनात्मक एकता र विश्वासलाई चुनौती दिइरहेको स्पष्ट पारेका छन् ।

चाकडी होइन, अवसर सिर्जना गर्ने सदस्य :

सभापति लामिछानेले चाकडी संस्कृतिको अन्त्य र उत्पादनशील संस्कृतिको विकासमा पार्टीले विश्वास गर्ने स्पष्ट पारेका छन्। रास्वपाले निर्माण गर्न खोजेको सदस्य राजनीतिक गतिविधिमा मात्र सीमित नभई समाजमा मूल्य सिर्जना गर्ने, उत्पादन बढाउने र उद्यमशीलताको अभ्यास गर्ने नागरिक पनि भएको उनले उल्लेख गरेका छन्।

पार्टीका सदस्यहरूलाई उत्पादन, उद्यम, नवप्रवर्तन र आत्मनिर्भरतासँग जोड्ने विशेष अभियान सञ्चालन गरिनुपर्ने उनको भनाइ छ।

‘हामी यस्तो राजनीतिक संस्कृतिको विकास गर्न चाहन्छौं जहाँ सदस्यको परिचय र प्रगति, उसको पहुँच र प्रभावको झ्यालबाट होइन, उसले सिर्जना गरेको उत्पादन, स्थापना गरेको उद्यम, दिएको रोजगारी र समाजमा पुर्‍याएको योगदानको मूल ढोकाबाट होस्,’ प्रतिवेदनमा भनिएको छ।

उत्पादन, उद्यम र श्रमसँग जोडिएको सदस्य नै आत्मनिर्भर नेपाल निर्माणको बलियो आधार बन्ने निष्कर्ष सभापति लामिछानेको छ।