
१० असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबिच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा सन् २०२३ मा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले भएको सम्झौतालाई कार्यान्वयनतर्फ अघि बढाउन संयुक्त समिति गठन गर्ने विषयमा छलफल भएको छ।
छलफलमा नेपालमा नवप्रवर्तन केन्द्रहरूको विकास, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान तथा विकास,उच्च हिमाली क्षेत्र तथा हिमाली जडीबुटीको अध्ययन–अनुसन्धान,जलवायु परिवर्तन तथा वातावरणीय अनुसन्धान,कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरण तथा अनुसन्धानकर्ता र वैज्ञानिकहरूको आदानप्रदान एवं तालिमका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
भेटमा चिनियाँ राजदूत चाङले चीनले आफ्नो कुल गार्हस्थ्य उत्पादनको करिब २.८ प्रतिशत अनुसन्धान तथा विकासमा लगानी गर्ने रहेको जानकारी दिँदै विज्ञान तथा प्रविधिको विकासलाई राष्ट्रिय प्राथमिकतामा राखिएको बताएका छन्।
