
१३ असार, काभ्रेपलाञ्चोक । लामो समयदेखि वर्षा नभएर बालीनाली सुक्न थालेपछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० र ८ का किसानहरूले महादेवको पूजा गरेर पानी मागेका छन् ।
मण्डनदेउपुर नगरपालिका–१० का किसानले मण्डन क्षेत्रकै सबैभन्दा अग्लो थानडाँडा (थामीडाँडा) स्थित महादेव मन्दिरमा विशेष पूजा गरि वर्षाको कामना गरेका हुन् ।
यस्तै मण्डनदेउपुर नगरपालिका–८ का किसानले पनि नरसिंगेश्वोर महादेव मन्दिरमा महारुद्री लगाएर महादेवसँग पानी मागेका छन् ।
लामो समयसम्म आकाशबाट पानी नपर्दा यस क्षेत्रमा यस्तो परम्परा प्रचलनमा रहे पनि पछिल्ला केही वर्षदेखि यो चलन कम देखिएको थियो । यसपटक भने जोगिटार र धाईटारका सयौँ किसानले फेरी भगवानसँग पानी मागे ।
कृषि उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उनीहरुले ‘हर हर महादेव, पानी देऊ’ भन्दै महादेवको पूजा–आराधना गरी वर्षाको कामना गरेका छन् ।किसानका अनुसार यसरी पूजा गरी पानी मागेपछि वर्षा हुने जनविश्वास छ ।
मण्डनदेउपुरका अधिकांश क्षेत्र,पाँचखाल,कुन्ताबेँसी तथा सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावतीलगायतका स्थानमा अत्यधिक गर्मी र खडेरीले जनजीवन तथा कृषि उत्पादन दुवै प्रभावित भएको पाइएको छ ।
