गुल्मीमा गुणस्तरहीन मह नष्ट

२४ असार,गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको करिब ४०० केजी मह नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले त्यहाँबाट करिब ४०० केजी महजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको पदार्थको वास्तविक गुणस्तर यकिन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय,तानसेन,पाल्पामा नमुना परीक्षणका लागि पठाएको थियो ।

प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा परीक्षण गरिएका मापदण्डका आधारमा उक्त नमुना नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्डअनुसार नरहेको उल्लेख भएपछि त्यसलाई अखाद्य पदार्थका रहेको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बजारमा बिक्री–वितरण हुने खाद्य सामग्रीको गुणस्तरमा शंका लागेमा सम्बन्धित निकाय वा प्रहरीलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

गुणस्तरहीन पुष्टि भएको उक्त महजस्तो देखिने पदार्थ जिल्ला प्रशासन कार्यालय गुल्मी,रेसुङ्गा नगरपालिकाका प्रतिनिधि,पत्रकारहरु र उद्योग वाणिज्य संघ गुल्मीका प्रतिनिधिहरूको रोहवरमा जिल्ला प्रहरी कार्यालय गुल्मीको परिसरभित्र खाडल खनी नष्ट गरिएको छ।

नागरिकको सक्रिय सहयोगले मात्रै बजारलाई सुरक्षित र गुणस्तरीय बनाउन सकिने हुँदा नागरिक सचेत रहन आग्रह गरिएको छ ।