
२८ साउन,वासिङ्टन डिसी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यो महिनाको अन्त्यमा आफ्नो पद छाड्ने भएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी गराएका हुन्।
राष्ट्रपति ट्रम्पले लेभिटलाई आफ्ना ‘सबैभन्दा विश्वासिला सहयोगीहरूमध्ये एक’ भनेका छन्। उनले आफ्ना साना छोराछोरी र परिवारलाई समय दिनका लागि पद छाड्न लागेको र उक्त निर्णयको आफूले पूर्ण सम्मान गर्ने ट्रम्पले बताएका छन्।
ट्रम्पका अनुसार लेभिट अब उनको प्रमुख बाहिरी सल्लाहकारका साथै रिपब्लिकन पार्टीभित्र एक प्रभावशाली व्यक्तित्वका रूपमा रहने छिन्।
२८ वर्षीया लेभिटले गत वर्ष ह्वाइट हाउसको प्रेस सचिवको जिम्मेवारी सम्हालेकी थिइन्। उनी यो जिम्मेवारी पाउने इतिहासकै सबैभन्दा कान्छी व्यक्ति हुन्। उनको ठाउँमा कसलाई ल्याइने उल्लेख भएकको छैन।
लेभिटले गत मे महिनामा श्रीमान् निकोलस रिचियोबाट दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिइन्।उनको दुई वर्षको छोरा पनि छ।उनी सुत्केरी बिदा सकेर गत महिना मात्र काममा फर्किएकी थिइन्।
राष्ट्रपतिको घोषणापछि लेभिटले सामाजिक सञ्जाल एक्समा यो जिम्मेवारी सम्हाल्नु आफ्नो जीवनको सबैभन्दा ठुलो सम्मान र रोमाञ्चक यात्रा रहेको लेखेकी छन्।उनले भनेकी छन्, ‘संसारकै सबैभन्दा चुनौतीपूर्ण काम गर्दै आमा बन्नु र नयाँ शिशुलाई जन्म दिनु मेरो जीवनको सबैभन्दा फलदायी र कठिन समय रह्यो।’
छोरीको जन्मपछि ह्वाइट हाउस फर्किएदेखि नै आफूले दुवै सन्तानलाई पर्याप्त समय दिन नसकेको महसुस गरेको उनले बताएकी छन्।
ह्वाइट हाउसको प्रेस सचिव बन्नुअघि लेभिटले ट्रम्पसँग लामो समय काम गरिसकेकी छन्।ट्रम्पको पहिलो कार्यकालमा उनले सहायक प्रेस सचिव र भाषण लेखकका रूपमा काम गरेकी थिइन्।
त्यसपछि उनी ट्रम्प समर्थक समूह ‘मागा इन्क’ को प्रवक्ता हुँदै ट्रम्पको सन् २०२४ को चुनावी अभियानमा राष्ट्रिय प्रेस सचिव बनेकी थिइन्।
आफ्नो कार्यकालमा लेभिटको सञ्चारमाध्यमसँगको सम्बन्ध कहिलेकाहीँ विवादस्पद पनि रहेको थियो। उनले केही पत्रकारहरूमाथि पूर्वाग्रही विचार राखेको आरोप लगाउँदै आएकी थिइन्।एजेन्सी समाचार
