
२८ साउन,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ।ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कारबाही गरेको हो।
जरिवानासहित कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार, अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको थियो।
अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम ९१४.१८५ केजी पाइएको प्रशासनले जनाएको छ।
उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल परीक्षण गर्दा समेत तोकिएको भन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिनुले उपभोक्तालाई कम ग्यास दिएर ठगी गरिरहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।
यसका साथै अत्यावश्यक सेवा अन्तर्गत पर्ने ग्यास उद्योग अनुगमनका दिन बन्द पाइएकाले उद्योग विरुद्ध थप कानुनी प्रक्रिया समेत अघि बढाइएको छ।
यसैगरी, विराटनगर महानगरपालिका वडा नं.७ मा रहेको श्रीकृष्ण ट्रेडर्सलाई पनि कारबाही गरिएको छ।
अनुगमन टोलीलाई जाँचबुझ र निरीक्षण कार्यमा सहयोग नगरेको भन्दै उक्त ट्रेडर्सलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।
आगामी दिनमा पनि यस्ता अनियमितता पाइएमा कडा कारबाही गरिने प्रशासनको चेतावनी छ।
