प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

१४ भदौं,काठमाडौं।बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा शनिबारसम्म रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ।

कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री राहत कोषमा शनिबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ ।

यस्तै,हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ ।

सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले जारी गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग जम्मा गर्न स्वदेशी तथा विदेशी सहयोगकर्तालाई सरकारको अनुरोध छ ।