आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

२८ असोज,काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । साथै दुर्गा सप्तशती (चण्डी),श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।

नवदुर्गामा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

काठमाडौंका नक्साल भगवती,मैतीदेवी,शोभा भगवती,कालिकास्थान,भद्रकाली लगायत 
 देवीका देशैभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ ।