सूचना प्रविधिमा लगानी गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको  भन्दै यसमा लगानी गरेर लाभ लिन लगानीकर्ताहरुलाई आह्वान गरेकी छिन्।

सोमबार काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनकामा मन्त्री शर्माले सूचना प्रविधि लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको भन्दै आह्वान गरेकी हुन् ।

मन्त्री शर्माले संसारकै अग्लो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन सरकारले दृढ सङ्कल्पि गरेको भन्दैमुनाफा आर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गर्ने समेत बताइन । उनले भनिन्, ‘सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रूपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभ लिन देश भित्र तथा देश बाहिरका सम्पूर्ण लगानीकर्तालाई आह्वान गर्दछु।’

मन्त्री शर्माले नेपालमा सूचना प्रविधि उद्योगका लागि अनुकूल भौगोलिक हावापानी रहेको भन्दै दक्ष जनशक्ति उपलब्धताले कम लागतमा सूचना प्रविधि सम्बन्धी उद्योग सञ्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको दाबी गरिन।

उनले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार प्रतिबद्ध रहेको बताइन ।उनले भनिन,‘साइबर स्पेस लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति,२०८० जारी गरिएको छ ।भने,राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिएको छ ।’ मन्त्री शर्माले भनिन्।