
काठमाडौं । बागमती प्रदेशमा आज सोमबारदेखि नेपाल (नेवारी) र तामाङ भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गरिएको छ।बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू भएको हो।
गत बुधबार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा,तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।२०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक आरम्भ गरेको हो ।
आज बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह गर्नुभएको छ ।
‘नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न हामीले मुख्य रूपमा सङ्घर्ष गर्दै आएका थियौँ । इमानदार र सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन् ।सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह गर्दछु।’ उहाँले भन्नुभयो ।
भाषा ऐन लागु हुने दिनको अवसरमा आज सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा पनि दिइएको छ।अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली बाहेक तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ।
यो ऐन लागू भएसँगै प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहले समेत तामाङ र नेपाल भाषामा समेत सेवा दिनु पर्नेछ।
