वाग्मती नदी किनारमा १२ वर्षमा ६ हजार बिरुवा हुर्काइयो

काठमाडौं।वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएको छ।सफाइ अभियान्ताद्वारा बाह्र वर्षको अवधिमा नदी किनारमा सो संख्यामा बिरुवा रोपिएका हुन्।

शनिवार वाग्मती सफाइ महाअभियानको १२औँ वर्ष पुगेको अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले वाग्मती सफाइसँगै नदी किनारमा छ हजार बिरुवा हुर्काइएको दाबी गरे ।

“नदीका किनारमा देखिएका रुखहरु हामीले हुर्काएका हौँ”,उनले भने,“बिरुवा धेरैले रोपेका होलान् तर हामीले हुर्काएका छौँ ।मृतप्रायः नदीलाई जीवन दिए पनि अझै सोचेजस्तो भएको छैन।”

“ यति धेरै वर्षसम्म यो अभियानले निरन्तरता पाइराख्नु ठूलो उपलब्धि रहेको छ ।” उनले भने ।

उनले हालसम्म वाग्मती किनारबाट करिब २१ हजार मेट्रिकटन फोहोर उठाइ सकिएको पनि जानकारी दिए।

कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आममानिसमा फोहोर गर्ने संस्कारको अन्त्य हुन नसकेको बताए। एउटा रुख रोप्दै मन्त्री तामाङले नागरिकमा अभियानका बारेमा चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याए।भने, मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए।

कार्यक्रममा सांसद सोविता गौतमले मानव सभ्यताको विकास नै नदीबाट भएकाले यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताइन्।

वाग्मती सफाइ महाअभियान २०७० साल जेठ ५ गतेदेखि सुरु भएको थियो ।‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ थालिएको अभियानको यो ५७५ औँ साता हो ।

आज  शनिवार पनि उल्लेख्य सहभागितामा तिलगङ्गा आँखा अस्पताल क्षेत्रको नदी सफाइ गरिएको थियो।

महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी,वाग्मतीकै पनि विभिन्न स्थानमा सफाइ अभियान चलिरहेको छ ।

काठमाडौँ उपत्यकाका हाल गुह्येश्वरीमाथिको वाग्मती,तिलगङ्गा,आलोकनगर,सुन्दरीघाट, मैतीदेवी,रुद्रमती,विष्णुमती,मनोहरा,ललितपुरको गोदावरी खोला,भक्तपुरको हनुमन्तेलगायत सांस्कृतिक सम्पदा गरी २५ स्थानमा सफाइ भइरहेको छ ।

काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहर,नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ अभियान चलेको छ । 

अभियानको सफलताका लागि स्थानीय सरकारले साथ दिनुपर्ने अभियानकर्मीको माग छ ।