बेलायतमा आगामी निर्वाचनको मिति घोषणा

एजेन्सी । बेलायतमा हुने आगामी निर्वाचनको मिति घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ का लागि आम निर्वाचनको घोषणा गरेका हुन् ।

नियमित तालिकाअनुसार बेलायतमा सन् २०२५ मा निर्वाचन हुनुपर्ने थियो । त्यसको ७ महिना अगाडि नै प्रधानमन्त्री सुनकले चुनावको मिति घोषणा गरिदिएका हुन् ।

उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए ।

राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ वर्तमान संसद भंग गरिने छ । त्यसपछि चुनावी प्रक्रिया सुरु हुने छ । सम्भवतः शुक्रबारदेखि चुनावी प्रक्रिया सुरु हुने बीबीसीले जनाएको छ ।

उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । बेलायतमा जनवरी २०२५ मा आम चुनाव हुने सम्भावना थियो । चुनावको मिति घोषणाका लागि उनलाई डिसेम्बर महिनासम्म समय थियो ।