काठमाडौं ।नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्न सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने घोषणा गरेको छ।
आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइनुका साथै सूचना प्रविधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ।
साथै उच्च गतिको इन्टरनेट,विद्युत,सुरक्षा लगायतको पूर्वाधारसहित सूचना प्रविधि पार्क सन्चालनको काम अगाडि बढाउने सरकारले घोषणा गरेको छ।यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सन्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने बताइएको छ।
सार्वजनिक,निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हबको लागि काठमाडौंको डिल्लीबजार स्थित चारखालमा बहुतले संरचना निर्माण गरिने अर्थमन्त्री पुनले बताए।सरकारले ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
साथै सरकारले सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था मिलाइने जनाएको छ।भने,वडा, केन्द्र,सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याइने सरकारको लक्ष्य छ।डिजिटल डिभाइड कम गर्न पिछडिएको वर्ग,क्षेत्र र महिलाको सूचना प्रविधिमा पहुँच बिस्तार गरिने सरकारको घोषणा छ।
