महिलाहरुको पहिले जस्तो पिछडिएको अवस्था छैन : महासचिव पोखरेल

 मिना घोरासाइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले साँस्कृतिक रुपमा समाजको सुधार नभई महिलाको विकास नहुने बताएका छन् । बिहीबार सम्पन्न एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पितृसत्तात्मक नेपाली समाज यथावत रहेकाले महिलाहरु अझै पछाडि परेको बताए ।

उनी भन्छन्, ‘जुन संस्कृतिले महिलाको भूमिकालाई कमजोर पार्यो, त्यही संस्कृतिको उपासना गर्ने परम्परा विशाल भइरहेको छ ।’ जसका कारण महिलाहरु अझै खुम्चिएर बस्नुपरेको उनको धारणा छ ।

उनका अनुसार नेपालको राजनीतिक इतिहासमा महिलाले विशेष भूमिका निर्वाह गरेपनि अझै पिछडिएको अवस्थामा छन् । विकसित देशमा महिलाले अझै मतदान गर्न नपाएको अवस्थामा नेपाली महिलाले त्यो अधिकार पाउनु निकै ठूलो गर्वका कुरा भएकोमा उनले खुसी व्यक्त गरे ।

उनी थप्छन्, ‘नेपालको राजनीतिक पहुँचको हिसाबमा महिलाहरु निकै माथि पुगिसकेको अवस्था छ । जसका कारण महिलाहरु पहिलेजस्तो पिछडिएको अवस्था अलि कम छ । यो पहुचलाई अझै बढाउनुपर्ने अहिलेको आवश्यकता हो ।’

महिलालाई अझै अगाडि ल्याउन संविधानले ढोका खोलेको उनले बताएका छन् ।