एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन शनिबारदेखि

काठमाडौं । नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ र २७ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

उनले २७ गते काठमाडौं बैंक्वेटमा बन्द सत्र हुने र यसका लागिका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको बताए।

उनले भने, ‘हामीले बन्द सत्रबाट नयाँ नेतृत्व छनोटको प्रक्रिया अवलम्बन गर्ने छौ। । त्यतिखेरसम्म हाम्रा प्रतिवेदनहरुमाथि छलफल गरेर पारित गरिसक्ने छौं । यो बन्दसत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरेका छौं ।’

अध्यक्ष निरौलाका अनुसार अधिवेशनमा ५८५ जना प्रतिनिधिहरुको सहभागितामा हुने छ ।पार्टी कामको समीक्षा,राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ।

अधिवेशनले राष्ट्रिय राजनीति र जनसरोकारका समसामयिक विषयहरुमा  प्रस्ताव पारित गर्ने र पार्टी विधानमा व्यवस्था भए बमोजिम अध्यक्ष,उपाध्यक्ष,सचिव,उपसिचवहरु लगायत बढीमा २२५ जनाको जिल्ला कमिटी र अध्यक्ष र सचिव सहित बढीमा ७ सदस्य लेखा कमिटी बनाइने अध्यक्ष निरौलाले जानकारी  दिएका छन्।