
जमुना धमला
काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ ।महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी २७औं महाधिवेशनले जेठ २६ गतेका लागि तय गरेको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ।मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।’
साथै निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति,एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनसमेत अध्यक्ष पोखरेलले आग्रह गरेका छन् ।
पछिल्लो समय महासंघको सदस्यता शुद्धीकरणबारे निकै विवाद देखिएको छ । यसका लागि अध्ययन गर्न सुरुमा धर्मेन्द्र कर्णको नेतृत्वमा समिति गठन भएको थियो ।भने,पछि महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा अर्को समिति बनेको छ।तर,उक्त समितिले पनि सदस्यता शुद्धिकरणको विषयको टुंगो लगाउन सकेको छैन।
महासंघमा गैरपत्रकारलाई सदस्यता दिएको र वास्तविक पत्रकारलाई बाहिर राखेको भन्दै सम्बद्ध संघसंगठन र सरोकारवालाहरुले महासंघको नेतृत्वको चर्काे आलोचना गरिरहेका छन् ।सो बारेको विवाद चरम उत्कर्षमा पुगेका कारण निर्वाचन प्रभावित बनेको आँकलन गरिएको छ ।
असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि मिति भने तोकिएको छैन ।
