अदालतलाई प्रभावित पार्ने र कांग्रेसलाई घेराबन्दी गर्ने प्रपञ्च रचिएको छ : गगन थापा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालत र संवैधानिक निकायलाई प्रभावित पार्ने र आफ्ना पार्टीका नेता कार्यकर्ता माथि घेराबन्दी गर्ने कोशिस भइरहेको जिकिर गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अदालत र संवैधानिक निकायलाई तर्साउने,फकाउने र लोभ्याउने परिपाटी हाबी हुँदै गइएको बताए ।उनले भने,‘अदालतलाई प्रभावित गर्ने,अड्डालाई प्रभावित गर्ने,संवैधानिक निकायलाई प्रभावित गर्ने,ती सबैलाई तर्साउने,फकाउने लोभ्याउने जुन परिपाटी हामी पछिल्लो समय देख्दै गइरहेका छौं ।

कांग्रेसका साथीहरुलाई एक पछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं’। ‘निर्दोष साथीहरुलाई कहीँ कतै अप्ठेरो पार्ने कोशिस हुन्छ भने त्यो बेला सिंगो पार्टी एक ठाउँमा आएर पार्टीले बोल्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौं ।’ उनले भने ।

‘सरकारमा बस्ने साथीहरुसँग सबै अनुसन्धान गर्ने निकाय छ,अख्तियारदेखि, प्रहरीदेखि प्रशासनदेखि सारा सबै कुरा सञ्चालन गरेर बस्नु भएको साथीहरुले, हामी सिंगो नेपाली कांग्रेसले निर्णय गरेर भनेका छौं, एउटा एउटा विषयको खाता पल्टाउनुस् एउटा एउटा विषयको अनुसन्धान गर्नुस्,हामीहरु मध्ये कोही एक जना व्यक्ति पनि कुनै पनि कुरामा संलग्न भएको कहीँ कतै पनि कसैको अवस्था रहन्छ भने त्यो अवस्थामा त्यो भारी पार्टीले बोक्दैन त्यो व्यक्तिले बोक्नुपर्छ’उनले अगाडि थपे । ।

व्यक्ति शक्तिशाली वा नयाँ भयो भन्दैमा कानुनको उल्लंघन गर्ने छुट पाउन नहुने भन्दै थापाले कुनै पार्टीको नामका आधारमा छुट पाउन नहुने बताए । 

‘प्रधानमन्त्री भए त अपराध गरेको छ भने दण्ड पाउनुपर्छ भनेका छौं भने पुरानोले पाउँछ भने नयाँले पाउनुपर्छ कि पर्दैन ? यसमा पुरानो र नयाँ भन्ने हुन्छ ?कंग्रेस महामन्त्री थापाले प्रश्न गरे ।