
सीता पौडेल(अर्चना)
पोखरा।अनुपम म्युजिक,पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ।
शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए।अबको परिवेशमा भाषणकला जीवनका लागि एक अनिवार्य कला भएको भन्दै उनले सबै वर्ग र क्षेत्रका मानिसहरुले यस प्रकारको सीप सिक्न जरुरी भएको बताए।

साथै उनले वडाले पनि वडाभित्रका आमा समूह,टोल विकास समितिलगायतका विभिन्न संघसंस्थाहरुमा आबद्ध व्यक्तिहरुका लागि भाषण कला सम्बन्धी तालिम सञ्चालन गरेको र त्यस तालिमबाट धेरै जनाले लाभ लिएको जिकिर गरे ।यस्ता तालिमले मानिसको व्यक्तित्वलाई उच्च बनाउन मद्धत पुग्ने उनको भनाई छ।
अनुराग अधिकारी,रुपिन्द्र प्रभावीलगायतका सम्बन्धित विज्ञहरु प्रशिक्षक रहेको सो तालिमको समापन समारोहमा वडा अध्यक्ष पराजुलीले अनुपम म्युजिकले २० वर्षदेखि सञ्चालन गर्दै आएको तालिमबाट उच्च पदस्थ नेताहरूसम्म लाभान्वित भएको भन्दै सो अभियानको खुलेर प्रशंसा समेत गरे ।

अनुपम म्युजिकका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको समापन समारोहमा प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपम म्युजिकबाट अहिलेसम्म १० हजारभन्दा बढी व्यक्तिले तालिम लिइसकेको र यस संस्थाबाट एक पटक पैसा तिरेर तालिम लिएकाहरुलाई थप तालिमका लागि निःशुल्क तालिमको व्यवस्था भएको जानकारी गराएका थिए ।

कार्यक्रममा गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, समाजसेवी राजकुमार घिमिरे,प्रशिक्षार्थीहरू अनुपमा अधिकारी,मिलन बराल,अर्नभ तुलाचन,ओजस्वी गौतम लगायतले तालिम र संस्थाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

सो तालिमको समापन समारोहमा प्रशिक्षार्थीद्वय श्रेया अधिकारी र एलिसा थापाले उदघोषकको भूमिका निर्वाह गरेका थिए।
समापन समारोहमा सुमधुर स्वरकी धनी गायिका कृषिका घिमिरेले मीठो गीत प्रस्तुत गरेकी थिइन् ।
