
चितवन।चेपाङ आवास कार्यक्रम अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन।
हिजो मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित एक कार्याक्रम मार्फत गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरेका थिए ।
सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न समुदायको उत्थानको लागि त्यस ठाउँमा आवास निर्माण गरिएको हो।
साँचो हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले गाउँपालिकाका सातै वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए।उनले भने, ‘पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो’ । ‘टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौं।’
अध्यक्ष गुरुङले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरिदिएको बताए ।गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई,वडा नं ५ मा दुई,वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले धेरैको आकाङ्क्षा भए पनि बिहान–बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताइन् ।उपाध्यक्ष सिलवालले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद पनि दिइन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।यसका लागि पालिकाले आगमी आवका लागि तीन करोड ३० लाख बजेट विनियोजन गरेको छ ।
उक्त कार्यक्रमबाट लाभान्वित चेपाङहरु भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएका थिए।
पालिकाले दुई कोठाको घर निर्माण गरिदिएको हो।इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ।
नयाँ घर उपहार पाएपछि बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर हट्नुका साथै धेरै जना एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै उनीहरुले खुशी व्यक्ति गरेका छन्।
