
काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष २०८१– ८२ सुरु भएको छ।सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट पनि आजैदेखि कार्यान्वयनमा आएको छ ।
निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याउनु भएको थियो।अघिल्लो आर्थिक वर्षभन्दा करिब ६ प्रतिशत बढी बजेट रहे पनि कार्यान्वयनमा भने चुनौती छ । लक्ष्यअनुसार राजस्व संकलन नहुनु र पुँजीगत खर्च पनि नहुनु लगायतका समस्या छन्।
विदेशी मुद्राको सन्चिति बढे पनि सरकारको खाता भने घाटामा छ।अहिले सरकारी ढुकुटीमा २ खर्ब ५१ अर्ब उपलब्ध छ।तर, सरकारी खाता भने २१ अर्ब घाटामा छ।
गत वर्षको साउनसम्म २२ खर्ब ९९ अर्ब रहेको सार्वजनिक ऋण अहिले २४ खर्ब ९ अर्ब पुगेको छ ।
गत आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब राजस्व उठाउने भनेकामा अहिलेसम्म १० खर्ब ३० अर्ब अर्थात् ७२ प्रतिशतमात्रै उठाएको छ । यो राजस्व सरकारको चालु खर्च मात्रै धान्न पर्याप्त छ।
