अदालतको आदेशसँगै न्युरोडमा फुटपाथ विस्तारको काम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ बिस्तारको काम पुन सुरु गरेको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेपछि काठमाडौं महानगरपालिकाले आज बिहानैदेखि न्युरोडको सडक भत्काएर फुटपाथ बिस्तारको काम थालेको हो ।

महानगरले न्युरोडमा फुटपाथ विस्तार र सुधारको काम थालेपछि डिभिजन सडक कार्यालयले अवरोध गरेको थियो । सडकलाई पैदलयात्री मैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले अवरोध सिर्जना गरेपछि काम रोकिएको थियो । सडक डिभिजन कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी दुई वटा पत्र महानगरलाई पठाएको थियो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भन्दै जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार फुटपाथ विस्तारका लागि महानगरको पक्षमा अन्तरिम आदेश दिएको थियो । महानगरपालिकाले नगर प्रहरीको बाक्लो उपस्थितिमा पुनः फुटपाथ विस्थारको काम थालेको हो ।