कोप २९ : जलवायु संकटसँग जुध्न धनी देशले सहयोग गर्नुपर्ने अल्पविकसित देशहरुको धारणा

२८ कार्तिक, काठमाडौं ।अल्पविकसित देशहरुको समूह (एलडीसी) ले जलवायु परिवर्तनको संकटसँग जुध्न धनी राष्ट्रहरुले थप वित्तीय सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ ।

अजरबैजानको राजधानी बाकुमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९)को सन्दर्भमा अल्पविकसित देशहरुको तर्फबाट अध्यक्ष इभान्स जेवाले विज्ञप्ति जारी गर्दैै जलवायु वित्त र हानि नोक्सानी कोषमा पर्याप्त पुँजीको आवश्यकतामा औल्याएका हुन्।

साथै कोप २९ बाट  वित्तीय सहयोग र क्षतिपूर्ति सम्बन्धमा थप प्रगति हुने अपेक्षा अल्पविकसित देशहरुको छ।कोपमा जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित समुदायलाई वित्तीय सहयोग उपलब्ध गराउनाले तिनीहरुको अनुकूलन,पूर्वसूचना प्रणाली एवम् राहत तथा पुनर्निर्माणमा सहयोग पुग्ने आशा राखिएको छ ।

एलडीसीज्का अध्यक्ष इभान्स जेवाले भनेका छन् — ‘नयाँ जलवायु वित्तीय लक्ष्यमा थप प्रगति हुनेछ, तर हालसम्म प्राप्त सहयोग र आवश्यकता बीच ठूलो खाडल छ । यो नयाँ लक्ष्यले जलवायु परिवर्तनको सामना गर्न,त्यसको प्रभावहरू अनुकूलन गर्न र क्षतिपूर्तिको आवश्यकतालाई पूरा गर्नुपर्दछ ।’

अल्पविकसित देशहरुको समूहले विशेष गरी धनी राष्ट्रहरूलाई थप जिम्मेवार बन्न र जलवायु परिवर्तनको नकारात्मक प्रभावको सामना गर्न थप वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । उसले हानिनोक्सानी कोषमा पर्याप्त रकम जम्मा नभएसम्म त्यसको प्रभावकारी उपयोग हुन नसक्ने बताएको छ ।

जलवायु अनुकूलनका योजनामा लगानी गर्न र हानिनोक्सानी कोष मार्फत् वित्तीय सहयोग जुटाउन सम्मेलनले पहल गर्ने लक्ष्य राखेकाले कोप २९ लाई फाइनान्स कोप पनि भनिएको छ । सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’का विषयलाई सबैभन्दा प्राथमिक सूचीमा राखिएको छ ।

यसैबीच कोप २९ लाई मंगलबार सम्बोधन गर्दै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् ।उनले जलवायु जोखिममा परेका विकासशील राष्ट्रलाई दिने गरी स्थापना भएको हानिनोक्सानी कोषलाई छिटो सञ्चालनमा ल्याउन अनुरोधसमेत गरेका छन् ।

हानि नोक्सानी कोष (लस एण्ड ड्यामेज फण्ड) मा पर्याप्त वित्तीय प्रतिबद्धता आवश्यक रहेको एलडीसीको जोड छ ।