राष्ट्रपति निवास र शीतलनिवासमा पनि आगजनी

२४ भदौ, काठमाडौं ।राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ । सरकारले आफ्ना जेनजी साथीहरुलाई गोली ठोकेर मारेकोमा आक्रोशित बनेका उनीहरुले दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेलको बालाजुहाइट स्थित घर र शीतलनिवासमा पनि आगजनी गरेका हुन् ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, प्रहरी प्रभाग, विभिन्न नगरपालिका, केही मन्त्रीहरुका घर,पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।

संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेर सिंहदरबार गेटमा आफैले पड्काएका थिए ।

अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । विभिन्न पार्टीका संसद,केही मन्त्रीहरु र विभिन्न संगठनका नेताहरुले समेत राजीनामा दिइरहेका छन ।

अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ ।

भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु पौडेलसहित अधिकांश मन्त्रीहरू सेनाकै सुरक्षामा छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादम्पती भने घरमै रहेकाले आगजनीका कारण निस्कन नसकेपछि आन्दोलनकारीको आक्रमणमा परेको सेनाले जनाएको छ ।

यसैविच मंगलबार राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री ओलीले पेस गरेको राजीनामा आजैका मितिदेखि लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।