आज नवरात्रको तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजा गरिँदै

८ असोज, काठमाडौं । यस वर्षको बडादशैंको नवरात्रको तेस्रो दिन आज दुर्गामाताको अर्काे स्वरुप चन्द्रघण्टा देवीको पूजा अर्चना गरिंदै छ ।

घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी,सातौं दिन कालरात्री,आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।

चन्द्रघण्टा देवी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।

बडादशैं सुरु भएदेखि नै काठमाडौं उपत्यका लगायत देशभरका देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड लागेको छ ।