मौसम पूर्वानुमान : मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

२१ असोज,काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकोे सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार मनसुन बाहिरिए पनि पश्चिमी वायूको प्रभावका कारण आज मङ्गलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली,पहाडी र तराईका भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

ती प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।

विभागका अनुसार चार दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालको छ ।मनसुन सामान्यतया २ अक्टोबरमा बाहिरिने भए पनि चार दिनजस्तो ढिला गरी सोमबार देखि मात्रै बारिन थालेको हो।

‘यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानबाट बाहिरिएको छ’, महाशाखाद्वारा जारी .बुलेटिनमा भनिएको छ।