भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

२८ असोज, काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले नयाँ वर्ष नेपाल संवत् ११४६ कात्तिक ५ गते मनाउनुपर्ने शास्त्रीय निर्णय भएको पनि बताएका छन् ।कात्तिक १ गतेदेखि सुरु हुने यमपञ्चक तिहार पर्वमा यमदीप दान, काग र कुकुरको पूजा गरिन्छ ।

त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ।

सायकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।औशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४:२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते रहेको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक मनाइन्छ । 

काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ।