
४ चैत,गण्डकी ।पर्यटकीय राजधानी पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यतिखेर यहाँका स्थानीयवासी सक्रिय बनेका छन्।
उक्त गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीको तिरस्थित चुनेपहरोसम्म रहेको छ ।
करिब ३० रोपनी क्षेत्रफल जग्गा रहेको यस गुफाभित्र प्राकृतिक रूपमा बनेका विभिन्न आकृतिसँगै ठूलो सङ्ख्यामा रहेका चमेरा अवलोकन गर्न सकिने छ।
पावरहाउसबाट करिब १० मिनेटको हिँडाइमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातबाट सहज रूपमा आउनजान सकिन्छ। गुफाभन्दा माथि रहेको तिक्लाङ चोकसम्म पोखरा महानगरका सार्वजनिक बसहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
गुफासहित यस क्षेत्रको पर्यटकीय विकासलाई वडाले प्राथमिकतामा राखेको पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए।‘हामीले यस क्षेत्रका हरेक सम्भावनालाई उजागर गर्न खोजेका छौँ’, उनले भने, ‘सुन गुफाको प्रवर्द्धनसँगै यहाँका कृषि पर्यटनका हरेक सम्भावनालाई पनि सँगसँगै लैजाने हाम्रो लक्ष्य छ।’
धेरै पर्यटकीय सम्भावना भएको गन्तव्यका रूपमा रहेको सुन गुफाले आन्तरिक पर्यटनको विकाससँगै पोखरा आउने विदेशी पर्यटकको बसाइँ लम्ब्याउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
