खुल्यो कालंगा हाइड्रोपावरको आईपीओ

८ जेठ, काठमाडौं । आम सर्वसाधारणका लागि शुक्रबारदेखि कालंगा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्दैछ ।

जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका नेपाली, म्युचुअल फन्ड, कर्मचारी लगायतलाई निष्कासनपश्चात बाँकी रहेको २८ लाख ७० हजार कित्ता सेयर आम सर्वसाधारणलाई निष्कासन भएको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्ता तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।