
२५ असार, काठमाडौं । आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अघि सरकारी खाता ‘फ्रिज’ गर्ने व्यवस्था छ।
यसर्थ अब सात दिन संघ,प्रदेश र स्थानीय तहका सरकारी खाता बन्त हुनेछन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति १२ बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ।
अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपत्कालीन खर्चका लागि निकासा खुला गर्न सकिने बताइएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म सरकारको कुल बजेटको ८ प्रतिशत अर्थात १५ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ।
जसमध्ये पूँजिगत खर्च १ खर्ब ६३ अर्ब १७ करोड अर्थात ४० प्रतिशत मात्र भएको छ। चालु खर्च भने ८७.२५ प्रतिशत अर्थात १० खर्ब ३० अर्ब छ ।
कार्यालयका अनुसार हिजोसम्म १० खर्ब ५१ अर्ब अर्थात ७९ प्रतिशत मात्र राजश्व संकलन भएको छ। सरकारले १३ खर्ब राजश्व उठाउने लक्ष्य लिएको थियो। अनुदानसहितको कुल आम्दानी पनि ७७ प्रतिशतमै सीमित भएको छ।
