शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ

३ साउन, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको पहलमा सुरु गरिएको परीक्षण सफल भएपछि आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ।

मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ।

ई–टिकेटिङ प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीले सहज सेवा पाउने विश्वास लिइएको छ।