
६ भदौं, काठमाडौं ।नेपाल र भारत सीमामा कडाइ गर्ने निर्णय भएको छ ।नेपाल र भारतबिच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकले सो निर्णय गरेको हो ।
कार्यदलको १४ औँ बैठक भारतको देहरादूनमा भदौ ४ र ५ गते बसेको थियो । दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने,तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाइ गर्ने,विपद् व्यवस्थापन र जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ ।
सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षा निगरानी बढाउन पनि दुवै पक्ष सहमति भएको मन्त्रालयले जानकारी दिएको छ ।
दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवम् पारस्परिक कानुनी सहायताका विषयमा पनि छलफल भएको जनाइएको छ ।
बैठकमा सन् २०२५ मा नेपालको पोखरामा सम्पन्न १३ औँ बैठकका निर्णयहरूको कार्यान्वयनबारे समीक्षा गर्दै सीमा पार अपराध,लागूऔषध,प्रतिबन्धित औषधि,वन्यजन्तु तथा मानव बेचबिखन,जाली नोट र हातहतियार तस्करी नियन्त्रण गर्न सम्बद्ध निकायबिच तत्काल सूचना आदान प्रदान कार्यलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
