
काठमाडौं ।२०७९ असार ३१ मा डा. बाबुराम भट्टराईले महीन्द्र राय यादव,रमेश यादव लगायत केही नेताकोा साथ लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गरे।त्यसको दुई वर्ष नपुग्दै जसपा फेरि विभाजित भएको छ।
संघीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी गठन गर्दै निर्वाचन आयोगमा आइतबार दल दर्ताको निवेदन दिएका छन्।दुवैपटक जसपा विभाजनको नेतृत्व संघीय परिषद् अध्यक्षले गरेका छन् ।भट्टराई पनि उबेला संघीय परिषद् अध्यक्ष थिए।
अहिले राइले प्रतिनिधि सभाका ७ सांसद र केन्द्रीय समितिका ३० नेताको साथ लिएर नयाँ दल खोलेका छन्।
आइतबार राईलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा निवेदन पेस गरिसकेका छन् ।भने नयाँ पदाधिकारी पनि चयन गरेका छन्।जसमा रेणुकुमारी यादव,नवलकिशोर साह,रणध्वज लिम्बु,परशुराम रम्तेल र सुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष छन्।
मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ।सांसद समेत रहेका प्रदीप यादवलाई उप-महासचिव चयन गरिएको छ ।सांसदहरूमा अध्यक्ष राईका साथै नवलकिशोर साह,प्रदीप यादव,सुशीला श्रेष्ठ,डा. वीरेन्द महतो,हसिना खातुन र रञ्जुकुमारी झा छन्।
प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपालमा ७ सांसद बेग्लै खेमामा उभिएपछि कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव संसदीय दलमा अल्पमतमा परेका छन्।
जसपा महाधिवेशनको मुखैमा छ।यही बेला राईले पार्टी फुटाएका छन्। अध्यक्ष बनेका राईले महाधिवेशनको विषयले पार्टी फुटाउने अवस्था आएको बताएका छन् ।उनले भने, ‘पार्टी महाधिवशेनको सँघारमा छ। महाधिवेशन जसरी स्वच्छ,निष्पक्ष ढंगले अघि जानुपर्ने हो,त्यसको विश्वास उत्पन्न हुन सकेन ।’
‘पार्टी महाधिवेशन जस्तो संवेदनशील संस्था आयोजना गर्दा सबैलाई समेटेर,छलफल गरेर जानुपर्ने थियो।तर हतारो मात्रै गर्ने र असंवैधानिक ढंगले विधानमा भएका व्यवस्थालाई कुल्चेर अघि बढ्ने कुचेष्टा भएपछि यसलाई सहनु उपयुक्त हुँदैन भनेर यो कदम लिइएको हो।’उनले भने।
एमालेमा लामो राजनीति गरेका राई उच्च तहमा पुग्ने नेतामध्येका एक हुन्।तर,पहिचानको मुद्दा छोडेको भन्दै असन्तुष्ट भएका उनले २०६९ मा एमाले छोडेर नयाँ दल खोलेका थिए।
अध्यक्ष यादव अमेरिकाबाट नेपाल फर्किदै थिए।यादव आकाशमै हुँदा यता पार्टी फुटिसकेको छ।
हेर्नुहोस् पदाधिकारीहरुको सूची

