जलवायुबारे अन्तर्राष्ट्रिय विज्ञ संवाद आजदेखि

काठमाडौं।हिमाल,जनता र जलवायुबारे अन्तर्राष्ट्रिय विज्ञ संवाद कार्यक्रम आज बुधबारदेखि शुरु हुँदैछ।वन तथा वातावरण मन्त्रालयले चन्द्रागिरिमा दुई दिने संवाद कार्यक्रम गर्न लागेको हो।

कार्यक्रमको उद्घाटन अहिले बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने तयारी छ ।कार्यक्रममा सहभागी हुन बंगालादेशका वातावरण,वन तथा जलवायुमन्त्री सबेर होसैन चौधरी र भुटानका कृषि तथा पशुपक्षीमन्त्री योन्तेन फुन्टसो,संयुक्त राष्ट्रसंघिय जलवायु परिवर्तन सम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) का अध्यक्ष ह्यारी ब्रेउल्स नेपालमा आएका छन्।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) को ६० औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र तयार गर्नु संवादको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

योसँगै आगामी कोप सम्मेलनका एजेण्डामा समावेश गराउने योजना रहेको मन्त्रालयले जनाएको छ।संवादमा नेपालबाट २६ र विदेशी मुलुकबाट २८ गरि ६१ जना विज्ञ तथा वैज्ञानिकहरुको सहभागिता रहने उल्लेख गरिएको छ ।

हिमालय क्षेत्रमा पारेको प्रभावको बारेमा मुद्दा उठाउनको लागि सो अन्तर्राष्ट्रिय संवाद कार्यक्रम हुँन लागेको हो।कार्यक्रम आज जेठ ९ र भोलि जेठ १०गते गरि दुई दिन सञ्चालन हुने बताइएको छ ।