काठमाडौं । नेपालमा रेमल चक्रवातको अप्रत्यक्ष असर देखिन थालेको छ । नेपालको पूर्वीं भागमा बंगालको खाडीबाट उत्पन्न चक्रवातको असर सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका मोरङ, झापा लगायतका जिल्लामा मौसम बदली भई वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुको दावी छ ।
महाशाखाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने बताइएको छ ।
